टिपरमा यात्रु ओसार्दै चौकुने गाउँपालिका

  Sampatti News

August 6, 2023

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रु बोक्न थालेको छ । गाउँपालिका अध्यक्ष खड्क विकका अनुसार एक÷डेढ महिना देखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै यातायात सेवा ठप्प पारेका
छन् । यातायात व्यवसायीले ज्यादती गरेको भन्दै अलपत्र परेका यात्रुहरूलाई टिपरमार्फत गन्तव्यमा पुर्‍याउन लागेको हो ।

यातायात सञ्चालनका लागि पटक–पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने गाउँपालिकाका अध्यक्ष विकले बताए ।

अध्यक्ष विकले भने,‘आज एक(डेढ महिना भइसक्यो, बर्खामा गाडी चलिरहेको बाटोमा सडक राम्रो छैन भन्ने आयो, सडक त राम्रै छ । यातायातका साथीहरूलाई पटक(पटक आग्रह गर्‍यौँ । तर उहाँहरूले वास्ता गर्नुभएन ।’

नागरिकलाई सास्ती हुन थालेपछि शनिबारबाट पालिकाको टिपरमै निःशुल्क रूपमा यात्रु बोक्न थालेका अध्यक्ष विकको भनाई छ ।

‘नागरिकलाई सास्ती हुन थाल्यो, अलपत्र पर्या छन् । उनीहरूको उद्धार गर्नुपर्‍यो । त्यही भएर शनिबारबाट पालिकाको टिपरमै निःशुल्क रूपमा यात्रु बोक्न थालेका छौँ,’ अध्यक्ष विकको भनाई छ ।

यातायात व्यवसायीहरूले सवारी सञ्चालनमा नल्याए गाडी भाडामा लिएर भए पनि सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । पालीकाले आफ्नै सरकारी गाडी किन्न प्रक्रियाका कारण समय लाग्ने भएकाले भाडामा लिएर भए पनि सेवा दिन लागिएको उनले बताए ।

उनले भने, ‘नागरिकहरूलाई सेवा दिन हामी गाडी भाडामा लिएर सञ्चालन गछौँ, पालीकाले आफ्नै गाडी किन्न समय लाग्ने त्यही भएर भाडामा लिने तयारी गरिएको हो ।’

यातायात व्यवसायीले सडकको कारण देखाए पनि स्थलगत अनुगमनका पश्चात् त्यस्तो कुनै समस्या नरहेको अध्यक्ष विकको भनाई छ ।

प्रकाशित मिति:August 6, 2023