अब कर्मचारी सरुवामा पिआइएस हेरिने, राजनीतिक पहुँच र सोर्स- फोर्स नचल्ने

  Sampatti News Online

August 6, 2023

काठमाडौं । कृषि कर्म गर्नेहरूका लागि असार साउन महिनामा बाली लगाउने चटारो भएजस्तै कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालयलाई साउन र भदौमा कर्मचारी सरुवाको चटारो हुन्छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अहिले कर्मचारीलाई उनीहरूको रोजाइ अनुसार सरुवा गराउन भ्याइनभ्याइ छ।

तर केही कर्मचारीलाई खुशी पार्न खोज्दा धेरै कर्मचारी अन्यायमा पर्ने हुँदा मन्त्रालयले आफ्नो कामको जस भने कहिल्यै पाएको छैन। यसपटक पनि मन्त्रालयले सबै कर्मचारीलाई र सबै भौगोलिक क्षेत्रलाई न्याय हुनेगरि सरुवाको व्यवस्था मिलाउन सकस हुने देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी भदौंदेखि नै लामो समयदेखि सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गम सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले आगामी महिनादेखि नै उनीहरुको कर्मचारी सूचना प्रणाली (पिआइस) हेरेर सुगममा कार्यरत कर्मचारीहरुलाई दुर्गममा खटाउने भएको हो ।
मन्त्रालयले आगामी भदौभित्र सरुवा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । निजामती सेवा नियमावलीमा सामान्य प्रशासनले प्रत्येक वर्षको १ भदौदेखि मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थापनका लागि मन्त्रालयले सरुवा प्रणालीलाई व्यवस्थित गर्न भन्दै गत साउन ११ गते दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन र सुगममा कार्यरुत कर्मचारीहरुलाई दुर्गममा जानका लागि कार्यालय रोजेर निवेदन माग गरेकोमा कर्मचारीहरु दुर्गममा जान अनिच्छा देखाएका हुन् ।
मन्त्रालयले ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको थियो । तर यो अवधिमा झण्डै ४५० आवेदन परेका छन् तर दुर्गममा जान कसैले इच्छा नदेखाएका हुन ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेकोमा ४५० आवेदन परेकोमध्ये सुगम जिल्ला वा क्षेत्रबाट दुर्गमका जानका लागि कसैले निवेदन नदिएको सामान्य प्रशासनले जनाएको छ ।

सामान्य प्रशासनका अनुसार,भौगोलिक अवधि पुगेका सुगममा रहेका कर्मचारी दुर्गम जान अनिच्छुक भए पनि अब पिआइएस हेरेर दुर्गम सरुवा गर्ने मन्त्रालयको तयारी छ । तीन वर्ष भौगोलिक अवधि पुगेका कर्मचारीलाई सुगमबाट दुर्गममा र दुर्गममा तीन बर्ष बढी बसेका कर्मचारीहरुलाई सुगममा ल्याइने सामान्य प्रशासनको तयारी छ ।

यस अघि मन्त्ती मोदीले उपसचिवदेखि शाखा अधिकृतसम्मको सरुवा गर्दा लामो समयदेखि सिंहदरबारमा अखडा जमाएर बसेका कर्मचारीहरुलाई स्थानीय तहमा पठाइसकेका छन् भने दुर्गममा लामो समयदेखि कार्यरुत कर्मचारीहरुलाई सुगम र सिंहदरबारमा तानेका थिए ।

प्रकाशित मिति:August 6, 2023