नेप्सेले थप तीन बैंकका सहायक कम्पनीलाई दियो ब्रोकरको सदस्यता

  Sampatti News Online

August 7, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सदस्यताका लागि आशयपत्र प्राप्त गरेको बाँकी तीन कम्पनीलाई पनि सदस्यता प्रदान गरेको छ । साउन १९ गते मेगा स्टक मार्केट लिमिटेडलाई ७५ नम्बरको, माछापुच्छ्रे सेक्युरिटिजलाई ७६ नम्बरको र नबिल सेक्युरिटिजलाई ७७ नम्बरको सदस्यता प्रदान गरिएको जानकारी नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिएका हुन् । 

नेप्सेले तीन चरणमा १७ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको हो । पहिलो चरणमा असार २१ गते सात ब्रोकर कम्पनीहरूलाई र दोस्रो चरणमा पनि साउन १२ गते सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । यी तीन कम्पनीहरूले पनि साउन १२ गते सदस्यता पाउने सात कम्पनीहरूसँगै सदस्यताका लागि आवेदन दिएका थिए । 

आवश्यक कागजात अपुग भएकाले सो समयमा यी कम्पनीले सदस्यता पाउन नसकेको छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको एक सातापछि यी तीन कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी सदस्यता प्राप्त गरेका हुन् ।

मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ भने माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सिमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले भने तेस्रो तहको धितोपत्र व्यापारीको कार्य गर्ने जानकारी समेत दाहालले दिएका छन् ।

नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रूपैयाँ चुक्तापूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर रहेको छ भने मेगा स्टक मार्केट  ६० करोड रूपैयाँ चुक्तापूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी रहेको छ । माछापुच्छ्रे सेक्युरिटिज भने २३ करोड रूपैयाँ चुक्तापूँजी भएको सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेको छ ।

प्रकाशित मिति:August 7, 2023