सामुदायिक वनका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

August 13, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन उपभोक्ता समूहका अध्यक्ष कुमार बहादुर बराईलीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफू अनुकूल किर्ते कागजात तयार गरी गैर कानुनी लाभ तथा सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा इलामको माई नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराईलीसति ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

माई नगरपालिका वडा नम्बर १ र ३ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराइलीले प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनेर ४ लाख र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटबिरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाइ, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समूहको रु ११ लाख ५ हजार ९ सय ३० गरी गरी कुल १५ लाख ५ हजार ९ सय ३० रकम भुक्तानीको लागि झुट्टा बिल भरपाई पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) को देहाय (ङ) बमोजिम झुट्टा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार बराईलीलाई पन्ध्र लाख पाँच हजार नौ सय तीस रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

यस्तै समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा, सोही समूहका तत्कालीन कोषाध्यक्ष राम कुमारी खत्री, दिल बहादुर मगर, सोही समूहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईली, दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेत र तत्कालीन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठलगायतविरुद्ध पनि मुद्धा दायर गरिएको छ ।

प्रकाशित मिति:August 13, 2023