‘महरा मात्र होइन, नाम आए मलाई पनि हतकडी लगाए हुन्छ’

  Sampatti News

August 14, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ले नाम जोडिए आफैँलाई हतकडी लगाएर थुने हुन्छ भनेको बताएका हुन् ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हतकडी लगाएर थुने हुन्छ भनेको छु ।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरूको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे । ‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन’ उनले भने, ‘सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ ।’

प्रकाशित मिति:August 14, 2023