दोहोरो अंकले घट्यो बजार

  Sampatti News Online

August 15, 2023

काठमाडौं । सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरीरहँदा त्यसले लगानीकर्ताको मनोबल उकास्न नसकेको देखिएको छ।

केहि बीमा कम्पनीहरुले आकर्षक प्रगति गरेको वित्तीय विवरण प्रकाशनमा ल्याएको भए पनि अन्य कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक छैन। अधिकाँश हाइड्रोपावरको वित्तीय विवरण नकारात्मक देखिएको छ। उत्पादनमूलक तथा व्यापार कम्पनीको पनि प्रगति खस्किएको छ। यसले पनि शेयर बजारमा नकारात्मक प्रभाव पारेको देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.८० अंकले घटेर दुई हजार ४५ दशमलब ४४ विन्दुमा बन्द भएको हो ।          

त्यस्तै, आज दुई अर्ब १५ करोड ७३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज हिमालयन डिष्ट्रिलरी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.६९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडकोे भएको छ । यस कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ।

प्रकाशित मिति:August 15, 2023