त्रिवि सेवा आयोग अध्यक्षमा भट्टराई नियुक्त

  Sampatti News

August 15, 2023

काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलवार त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराईलाई नियुक्त गरेका छन् ।

शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको समितिको सिफारिसमा भट्टराईलाई अध्यक्ष नियुक्ति गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । नवनियुक्त अध्यक्ष भट्टराई इतिहास केन्द्रीय विभागका प्राध्यापक हुन् । उनी सत्तारुढ काँग्रेस कोटाबाट अध्यक्ष नियुक्तिका लागि सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले जनायो । उनी प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्व अध्यक्षसमेत हुन् ।

समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । प्राध्यापकद्वय निलम श्रेष्ठ प्रधान र टङ्कनाथ धमला पनि सिफारिसमा परेका थिए । प्रधानमन्त्री सचिवालयका एक सदस्यले मेरिटको आधारमा भट्टराईलाई नियुक्त गरिएको दाबी गरेका छन् ।

त्रिवि सेवा आयोगले एक वर्ष अध्यक्ष पाएको हो । २०७९ साउन १८ गते आयोग अध्यक्षविहीन छ । अध्यक्ष नहुँदा अध्यापक कर्मचारी छनौट र बढुवाको काम ठप्प छ । गत वर्ष अध्यक्ष नियुक्ति गर्न शिक्षा मन्त्रालयले आवेदन माग गर्दा ३८ जनाले दरखास्त दिएका थिए ।

प्रकाशित मिति:August 15, 2023