काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र र जाइकाका प्रतिनिधि बीच दुई पक्षीय सहकार्यमा सञ्चालित बीउ उत्पादन, आपूर्ति र गुणस्तर नियन्त्रण परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रको तर्फबाट केन्द्र प्रमुख डा. पल्लवी कुमारी सिंह, वैज्ञानिक अर्जुन प्रकाश पौडेल र वैज्ञानिक डा. सरिता मानन्धरको उपस्थिति रहेको थियो । यस्तै जाइकाको तर्फबाट इसिजाकी योसियुकी, योसिदा मिनोरु र बिरेन्द्र वीर बस्नेतको उपस्थिति रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा परियोजनाको क्रियाकलापको अवस्था, समस्या र उपलब्धि बारे छलफल भएको थियो । जाइकाको तर्फबाट बस्नेतले कोशी प्रदेशमा लागु भएको यो परियोजनाले धानको न्यूक्लियस बीउ उत्पादन र गुणस्तरमा कार्य गरिरहेको र उपलब्धि उत्साहपूर्ण रहेको बताए ।
जाइकाका अर्का प्रतिनिधि इसिजाकी योसियुकीले यस परियोजना अन्तर्गत न्यूक्लियस बीउको उत्पादन तथा गुणस्तर कायम गर्न राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, धनुषामा अनुसन्धानात्मक कार्य भइरहेको र राम्रो प्रगति भइरहेको बताए ।

राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र, खुमलटारका केन्द्र प्रमुख डा. पल्लवी कुमारी सिंहले यस परियोजना अन्तर्गतका क्रियाकलापहरुको अनुगमन गर्न केन्द्रलाई बजेट बिनियोजन भएको हुदाँ आगामी दिनमा प्राविधिक तथा अन्य परियोजना अन्तर्गतका क्रियाकलापहरुमा सहकार्य गर्दै अनुगमनका कार्य अगाडि बढाउने बताइन् ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकोले यसमा अनुसन्धान गरी उपयुक्त प्रविधिको विकास गर्न जाइका जस्ता अन्तर्राष्ट्रिय सँस्थाहरुसँगको सहकार्य फलदायी हुने बताए । उनले नेपालमा किसानहरुले धानका बीउको भरपर्दो श्रोत नपाउँदा बेलाबेलामा बीउ नउम्रने, बाला नलाग्ने जस्ता समस्या देखिने गरेको अवस्थामा नार्कबाट उत्पादित बीउ गुणस्तरीय हुने र बीउको गुणस्तर कायमै राखी थप प्रविधिको विकास गर्न यस्तो सहकार्य महत्वपूर्ण हुने बताए ।