लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News

August 17, 2023

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भनिने पदम विनोद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा लेखा अधिकृत पोखरेललाई गत असार २६ गते नियन्त्रणमा लिएको थियो।

पोखरेलले सडकको निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा –१० को कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा –१० देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा –१० अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रकाशित मिति:August 17, 2023