बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय

  Sampatti News

August 17, 2023

काठमाडौँ । बीमा प्राधिकरणले केही बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । मर्जरमा गएर पनि पूँजी वृद्धि गर्न नसकेका कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिने प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमातर्फ पूँजी नपुगेका ५ कम्पनीले हकप्रद शेयर जारी गर्न पाउँछन् । हिमालयन एभरेष्ट इन्सुरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्सुरेन्स, शिखर इन्सुरेन्स, सानिमा जिआइसी इन्सुरेन्सले अब हकप्रद निष्कासन गर्न पाउनेछन् ।

जीवन बीमातर्फ सूर्यज्योति लाइफ इन्सुरेन्स, सानिमा रिलायबल लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्न पाउनेछन् । प्राधिकरणले मर्जरमा गएर पनि पूँजी नपुगेका, थोरै मात्र पूँजी अपुग भएका कम्पनीले हकप्रद शेयर निष्कासन गर्न पाउने बताएको छ । उनीहरूले अपुग पूँजी बराबरको हकप्रद जारी गर्न पाउनेछन् ।

प्राधिकरणले जीवन बीमालाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । यसअघि जीवन बीमाको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुने व्यवस्था थियो ।

प्रकाशित मिति:August 17, 2023