नार्क र नीति अनुसन्धान प्रतिष्ठान बीच कृषि अनुसन्धानका नीति निर्माणमा सहकार्य

  Sampatti News

August 17, 2023

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् -नार्क_ र नीति अनुसन्धान प्रतिष्ठान बीच कृषि अनुसन्धानका राष्टिय नीति निर्माण गर्न आवश्यक अनुसन्धान कार्यमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । सहकार्य गर्नका लागि दुबै पक्षका बीचमा सम्झौता गर्ने सहमति जुटेको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज आयोजित छलफलमा उक्त सहमति भएको हो । छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नेपालको कृषि नीति विशेष गरी कृषि अनुसन्धानको नीतिलाई समयानुकुल परिमार्जन गर्न विशेष अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसंगको सहकार्य महत्वपूर्ण हुने उनले बताए ।

उनले कृषि अनुसन्धान, कृषि प्रसार, कृषि शिक्षा र कृषकहरु बीचमा सहकार्य गर्न समय सापेक्ष नीति निर्माणका लागि दुबै पक्षबीच सहकार्य गर्न सम्झौता हुने बताए । नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा.कृष्णप्रसाद तिमिल्सिनाले नेपालमा तथ्यमा आधारित अनुसन्धानका लागि यो सहकार्य फलदायी हुने बताए । उनले उक्त केन्द्र र नीति अनुसन्धान प्रतिष्ठान बीच अहिले पनि सहकार्य भइरहेको र यसलाई अझै व्यापक बनाउँनुपर्ने खाँचो औल्याए ।

नीति अनुसन्धान प्रतिष्ठानका प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका प्रमुख डा.दिपककुमार खडकाले नीति अनुसन्धान प्रतिष्ठान र नार्क बीच हुने सहकार्यले देशको कृषि अनुसन्धानलाई नै मार्गनिर्देश गर्ने बताए । उनले नार्क नेपालको कृषि नीतिमा सरकारलाई सल्लाह दिने आधिकारिक निकाय भएको बताउँदै प्रतिष्ठान पनि बिभिन्न बिषयमा अनुसन्धान गरी सरकारलाई नीति निर्माणमा सल्लाह दिने निकाय भएकाले नार्कलाई कृषि अनुसन्धानका नीति निर्माणमा सरसहयोग गर्न आफूहरु तयार रहेको बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा= कालिकाप्रसाद उपाध्यायले यो सहकार्यले नेपालमा कृषि अनुसन्धानको हालको नीतिमा देखिएका समस्याको निरारण गरी कृषि प्रविधिको हस्तान्तरण र प्रविधिको प्रयोगबाट कृषिको उत्पादन बृद्धि गर्ने नीति कस्तो हुने भन्ने समेत निर्धाण गर्ने कुरा बताए । उनले नेपालको परिवर्तित राजनीतिक प्रणाली अनुसार स्थानीय, प्रादेशिक र संघीय स्तरको कृषि अनुसन्धान, प्रसार र शिक्षाका नीतिहरु स्पष्ट नभएको अवस्थामा यस्तो खालको अनुसन्धानले देशकै कृषि नीतिमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।

उक्त छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका सह अनुसन्धानकर्ता डा= सविन बसी लगायतको सहभागिता रहको थियो ।

प्रकाशित मिति:August 17, 2023