October 19, 2023
काठमाडौं । दशैं बिदा अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। शेयरमा अघिल्ला दुई कारोबार दिनमा देखिएको उत्साह बिहीबार भने टुटेको छ । आज शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४.०५ अंकको गिरावट भएको हो ।
कारोबार बन्द हुँदा नेप्से सूचक १९०३.८४ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।
बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन् ।
नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यसअघि नेप्से मंगलबार १३.१८ र बुधबार ४३.२७ अंकले बढेको थियो । तर, साताको अन्तिम कारोबार दिनमा वृद्धि टिकाउन कारोबारीहरू असफल भएका हुन् ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन जलविद्यूत उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।
प्रकाशित मिति:October 19, 2023