हमासको आक्रमणमा परेर मारिएका तीन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

  Sampatti News Online

October 22, 2023

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये तीन नेपाली विद्यार्थीको शव आज बिहान काठमाडौं ल्याइएको छ ।

फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । शव आएसँगै परराष्ट्र मन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत र मृतक विद्यार्थीका आफन्त विमानस्थल पुगेका थिए ।

हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हो । आशिष चौधरीको  शव पनि आजै ल्याइनेछ ।  अन्य बाँकी शवको पहिचानको काम भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । पहिचानको काम सकिएपछि बाँकी शव नेपाल ल्याइने छ ।

आक्रमणमा मृत्यु भएका अन्य शबहरुको पनि पहिचानको काम भईरहेको राजदूतावासले जनाएको छ। दूतावासका अनुसार हमासको आक्रमणका क्रममा बेपत्ता भएका विपिन जोशीको अबस्था भने अझै अज्ञात नै रहेकाले बिभिन्न माध्यमहरुको सहयोगमा खोजी कार्य भईरहेको छ। 

इजरेल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको तनावका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई परराष्ट्रमन्त्री साउदको नेतृत्वमा गएको टोलीले गत साता उद्धार गरेर नेपाल ल्याएको थियो।

नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा गत शुक्रवार बिहान सबेरै २५३ नेपाली विद्यार्थीलाई नेपाल ल्याइएको थियो।

त्यस बेला स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो।

सोही प्रतिबद्धता अनुसार मङ्गलवार थप १८ जना नेपालीहरूलाई स्वदेश फर्काइएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति:October 22, 2023