इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

  Sampatti News Online

October 26, 2023

काठमाडौँ  ।  इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।

नेपाल ल्याइएको शव जयपृथ्वी ६, बझाङका गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज (बिहीबार) बिहान ७ बजे उनको शव ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले जानकारी दिए ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ ३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही ६ का आनन्द साह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, डोटी लामीखाल ८ का पदम थापा र सल्यान शारदा नगरपालिका ३ का प्रवेश भण्डारी छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपिन जोशी सम्पर्कविहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका २५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

केही समय अघि परराष्ट्र मन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

प्रकाशित मिति:October 26, 2023