रेस्टुरेन्टका सञ्चालकसहित ३ जना पक्राउ

Nepal Cover
१२ कार्तिक २०८०, आईतवार
image

काठमाडौँ। काठमाडौँको माछापोखरीमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। ग्रिन टि सस्तोमा मिलाई दिने भन्दै बारमा पुर्‍याएर उनीहरूलाई लुटिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा माछापोखरीस्थित किङ्स अकबरे मम्स रेस्टुरेन्टका सञ्चालक नुवाकोटको ककनीका २७ वर्षीय उमेश लामासहितका व्यक्ति रहेका छन्।

पीडित भारतीय ठमेलस्थित एक होटलमा बिहीबारदेखि बस्दै आएका थिए। प्रहरीका अनुसार उनीहरूलाई सस्तोमा ग्रिन टी मिलाई दिने बहानामा माछापोखरीस्थित एक बारमा पुर्‍याएर लुटिएको थियो।

कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गरी लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाको साथबाट एउटा मोटरसाइकल र ५९ हजार ३ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।