राष्ट्रिय सभा अध्यक्षमा माओवादीको पनि दाबी : प्रधानमन्त्री दाहाल

  Sampatti News Online

February 6, 2024

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताएका हुन् । फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दैछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि फागुन २० मै सकिन लागेको छ ।

‘राष्ट्रिय सभा अध्यक्षमा माओवादीले स्वाभाविक रूपमा दाबी गर्छ । पछिल्लो समय जुन जस्तो परिस्थिति निर्माण हुँदैछ, यसमा हाम्रो दाबी रहन्छ ।

फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने क्यालेन्डर सार्वजनिक गरिएको छ । यसै सन्दर्भमा माओवादी केन्द्रको आइतबार र सोमबार गरी दुई दिन बसेको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई छोड्न नहुने धारणा राखेका थिए ।अध्यक्षमा गठबन्धनको मुख्य दल कांग्रेसले पहिलेदेखि नै दाबी गरेको छ । कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ अध्यक्षका लागि चर्चामा छन् । राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बन्न लागेको र सत्ता गठबन्धनमा भएको समझदारीअनुसार प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिनुपर्ने हुँदा अध्यक्ष छोड्न नहुने तर्क राखेका हुन् ।

राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहन्छ भनेर अध्यक्षले संसदीय दलको बैठकमा भन्नुभएको छ । राष्ट्रिय सभाको पहिलो दल भएको हुनाले पनि अध्यक्षमा दाबी गर्ने आधार छ भन्ने उहाँको कुरा थियो । प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष पार्टीले पाउनुपर्ने विषयमा गृहकार्य गरिरहेको सांसदहरूलाई बताएका थिए । सत्तारुढ गठबन्धनका अन्य राजनीतिक दलहरूसँग पनि उक्त विषयमा छलफल भइरहेको कुरा दाहालले संसदीय समितिमा जानकारी दिएका थिए ।

सांसदहरूले माओवादी केन्द्रलाई गठबन्धनको मुख्य घटक कांग्रेसले पटक-पटक धोका दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले संसद्‍मा सरकारले आवश्यक विधेयक ल्याउने र तिनलाई पास गर्नका लागि भूमिका खेल्न सांसदहरूलाई भनेका थिए ।

प्रकाशित मिति:February 6, 2024