February 7, 2024
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक नियन्त्रणमा लिएको छ । प्राप्त जानकारी अनुसार ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ । उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रकलाई पनि सानेपाबाट नियन्त्रणमा लिएको हो ।
खुला सीमाको फाइदा उठाएर तराइका नाकाहरूबाट चोरी पैठारीका सामान भित्र्याउने गरिएको छ । राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्टमा (बीओपी) मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ठाउँठाउँमा राखेपनि खुला बोर्डरको फाइदा लिएर गरिने चोरी पैठारी भने रोकिएको छैन ।
विभागका अनुसार एउटै ट्रकमा ठूलो परिमाण र लाखौं मूल्यको सामान बरामद भएको सम्भवतः यो घटना हो । कपडाधनीको खोजी भइरहेको विभागले जनाएको छ ।
गौर वरिपरिका क्षेत्र बाट तस्करी बढिरहेको समाचार आइरहेको बताइएको भएपनि सम्बन्धित निकायले देखाउने मौनताले राजस्व सकृय हुनुपरेको बताइन्छ ।
प्रकाशित मिति:February 7, 2024
November 24, 2024