बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जना हिरासत मुक्त

  Sampatti News Online

February 7, 2024

काठमाडौँ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

चौधरीलाई बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले माघ १८ गते काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो । सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज हिरासतमुक्त गरिएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा परेका सीजी होल्डिङ्सका अध्यक्ष चौधरीसहित ३ जनालाई त्यसअघि दिइएको ४ दिनको म्याद सकिएपछि अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर सोमबारमात्रै उनीहरूलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न अदालतले आदेश दिएको हो ।

सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । उनीहरू पनि आजै हिरासत मुक्त भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छोडिए पनि उनीहरूविरुद्ध सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान कायमै राख्नेछ ।

प्रकाशित मिति:February 7, 2024