गृह मन्त्रालयले भन्यो – फागुन १ मा सार्वजनिक बिदा छैन

Nepal Cover
२९ माघ २०८०, सोमबार
image

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृह मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।  मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो । 

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ । 

यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।