काठमाडौँ । वित्त आयोगमा नियुक्त भएका आयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गरेका हुन् ।
सदस्यद्वयको व्यक्तिक विबरणमा उल्लेख गरिएको शैक्षिक योग्यताका सूचनाहरु शंकास्पद देखिएपछि सूचना माग गर्दा सूचना समेत नदिइएकोले सार्वजनिक सरोकारको विषय भएकोले रिट दर्ता गरेको उल्लेख गरिएको छ ।
राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षी बनाइ दायर रिटमा गुरुङ र निरौलाको नियुक्ती नै गैह्रकानूनी, गैह्रसंवैधानि भएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम यो मुद्दाको अन्तिम निर्णय नभएसम्म निजहरुलाई विपक्षी आयोगको सदस्यको रुपमा कार्य गर्न नदिन तथा नलगाउनु भनि विपक्षीहरुका नाममा अन्तरिम आदेश समेत जारी गर्न माग गरिएको छ । दायर रिट निवेदनको सुनवाइको लागि फागुन १८ गते शुक्रबार को लागि पेशी तोकिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
त्यस्तै दायर रिटमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी प्राकृतिक श्रोत वा वित्त व्यवस्थापन, अर्थशास्त्र, कानून, व्यवस्थापनको क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशेषज्ञता हासिल गरेको भन्ने स्पष्ट व्यवस्था गरिएको छ । तर जुद्धबहादुरले परिषदमा पेश गरेको बायोडाटा र निजले प्रकाशित गरेको किताबको पानामा देखिएको बायोडाटामा योग्यता समेत फरक परेको देखिन्छ । यसरी नियुक्तिका लागि शैक्षिक योग्यता नपुगेको दावी सहित निजले एमएस्सी तथा विएडको योग्यतामै आयोगको नियुक्ति लिएको उल्लेख गरिएको छ ।
साथै रिटमा जुन प्रयोजनको लागि आयोग स्थापना भएको हो सोही प्रयोजन पुरा हुन नसक्ने भएको कारणल योग्यता पुगेको व्यक्तिलाई मात्र आयोग तथा अन्य संवैधानिक आयोगमा समेत नियुक्त गर्नु गराउनु भनि विपक्षीहरुका नाममा अधिकारपृच्छा सहितको परमादेशको आदेश लगायत अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश समेत जारि गरी पाउँ भनिएको छ ।
रिट उपर भोलि (शुक्रवार)को लागि पेशी तोकिएको छ ।