लेखापढी व्यवसायी पोखरेलसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

March 3, 2024

 काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा उनीहरुविरुद्ध बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । आयोगका अनुसार लेखापढी गर्ने पोखरेलले सेवाग्रहीसँग लिएको एक लाख मध्ये ५० हजार सर्वेक्षक चौलागाईलाई दिएका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ । बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।

प्रकाशित मिति:March 3, 2024