आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई रहन्छ : प्रधानमन्त्री दाहाल

  Sampatti News Online

March 4, 2024

 काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ ।

सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’

माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,’ दाहालले भने ।

दाहालले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा पनि दिए । साथै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि उनको भनाइ छ ।

कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘विप्लव उठ्नेबित्तिकै तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं तोड्दै जान्छौं । साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं ।’

प्रकाशित मिति:March 4, 2024