काठमाडौं–तराई द्रुत मार्ग : निर्धारित समयमा नै काम सक्ने तयारी

नेपाली सेनाले गरेको अन्तर्राष्ट्रिय स्तरीय काम फास्ट ट्रयाक

  Sampatti News

March 16, 2024

काठमाडाै‌ । नाम द्रुत भएपनि काम सुस्त भनेर लामो समयसम्म पनि सम्पन्न हुन नसकेको भन्दै आलोचना खेप्दै आएको काठमाडौं–तराई (मधेस) द्रुत मार्ग(फास्ट ट्रयाक) मा अब भने काम धमाधाम हुन थालेको छ ।

पछिल्लो समय काठमाडौं–तराई फास्ट ट्रयाकमा सुरुङ मार्ग खन्ने, सडक तथा पुलहरू बनाउने काम तीव्र रूपमा हुन थालेको छ । ती क्षेत्रमा प्राविधिक दक्ष कामदारहरूले धमाधम सुरुङ खन्न खटिरहेका देखिन्छन् भने नेपाली सेनाले त्यहाँ प्रभावकारी अनुगमन गरिरहेका छन् ।

नेपाली सेनाका अनुसार हालसम्म निर्माणाधीन तीनवटा सुरुङ मार्गहरूको जम्मा लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये ४ दशमलव ५६० किलोमिटर अर्थात् ७१ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। दस वटा सेनाले क्याप नै खडा गरेर घाम पनि अनि दिन रात नभनी खटिरहेका देखिन्छन् । प्रारम्भिक चरणका काममा केहि समय लागे पनि अब भने कामले रफतार लिने महासेनानी इन्दिवर गुरुङले बताए । रक्षा मन्त्रालय र सचिव किरणराज शर्माको गहकिलो समन्वयका कारण नै निर्माण कार्यले तीव्रता लिएको देखिन्छ । जसअनुसार मकवानपुर जिल्लामा पर्ने महादेवटार सुरुङमार्गको स्वीकृत डीपीआरबमोजिमको लम्बाइ ३ दशमलव ३५५ किमीमध्ये हालसम्म २ दशमलव ०३२ किमी सुरुङ खन्ने काम सम्पन्न भएको जनाइएको छ ।

यसै गरी धोद्रे सुरुङ मार्गको स्वीकृत डीपीआरबमोजिमको जम्मा लम्बाइ १ दशमलव ६३ किमिमध्ये हालसम्म १ दशमलव २५३ किमि सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सेनाका अनुसार लेनडाँडा सुरुङमार्गको १ दशमलव ४३ किमिमध्ये १ दशमलव २७५किमि सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। देवीचौर, सिसौटार र चन्द्राम भीरको सुरुङको काम भने सुरू भइसकेको छैन । सुरुङ खनिएका तीनवटै ठाउँका सुरुङहरूको छिटै ‘ब्रेक थ्रु’ हुने सेनाले बताएको छ।

चुनौती

नेपाली सेनाको निर्माण व्यवस्थापनमा सञ्चालन भइरहेको रणनीतिक महत्वको फास्ट ट्रयाकमा कामहरू धमाधम भइरहेको भए पनि विभिन्न समस्याका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न भने चुनौती देखिएको छ।

निर्माणस्थलमा स्थानीयको मुआब्जा विवाद, सो विवाद समाधानमा राजनीतिक नेतृत्ववाट गरिएको बेवास्ता, ठेकेदारबीचको द्वन्द्वका कारण उत्पन्न अदालती समस्या र मुद्दा लम्बिने प्रक्रिया, केन्द्रबाट रूख कटान गर्न दिने अनुमति र स्वीकृतिमा चरम ढिलाइ तथा निर्माणस्थलमा निर्माणजन्य सामग्रीको अभावका कारण आयोजनाले थप चुनौती भोग्नुपरेकाले काममा ढिलाइ भइरहेको जनाइएको छ । तरपनि कतिपय ठेक्का प्रक्रियामा भने प्रश्न सिर्जना भइरहेका छन्।

ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको ठेक्का प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वैज्ञानिक बनाउन जरुरी देखिएको छ। आयोजनाको भौतिक प्रगति ३१ प्रतिशत मात्रै आयोजनाको भौतिक प्रगति भने अपेक्षित देखिन सकेको छैन । आर्थिक वर्ष २०८०।८१ को हालसम्मको समष्टिगत भौतिक प्रगति ३१ दशमलव ९० प्रतिशत मात्रै रहेको छ । समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३१ दशमलव ७९ प्रतिशत रहेको छ। २०७४ साल वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत् सरकारले फास्टट्रयाक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

शुरुका दिनमा फास्टट्रयाको काममा आवश्यक फाउन्डेसन बनाउन, तयारी गर्न, अन्तर्राष्ट्रिय परामर्शको व्यवस्थापन गर्न समय लागेको भए पनि अब भने सबै तयारी पूरा भएको र कामले सबै प्रकारको लय समातिसकेकाले निर्धारित समयमा नै काम सक्ने योजनासहित अघि बढेको महासेनानी गुरुङले जानकारी दिए । सरकारले सो आयोजनाको समय २०८३ चैत्र मसान्तसम्म थप गरिसकेको छ ।

कतिपय ठाउँमा स्थानीयले अनावश्यक रूपमा मुआब्जा विवाद झिकेर समस्या पार्ने गरेको समेत देखिएकाले त्यसमा स्थानीय स्तरमा राजनीतिक नेतृत्वले समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

यसै गरी आयोजनालाई समयमा नै सम्पन्न गर्न सबै पक्ष मिलेर मुआब्जा विवाद समयमा नै समाधान गर्नुपर्ने, रूख कटान अनुमति र स्वीकृति तत्काल प्रदान गर्नुपर्ने, स्थानीय तहले निर्माणजन्य सामग्री समयमा नै उपलब्ध गराउनुपर्ने र अदालतले पनि मुद्दा मामिलालाई यथाशक्य टुंगाएर बाटो खुला गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।

ललितपुरको खोकना प्रस्थानबिन्दु र बाराको निजगढ अन्तिम बिन्दुको रूपमा रहेको सो फास्ट ट्रयाकको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ। हाल सो मार्गमा प्रस्तावित ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङ मार्गमा सुरुङ खन्ने काम तीव्र गतिका साथ भइरहेको छ।

नेपाली सेनाले फास्ट ट्रयाकको काममा गति दिन १३ वटा निर्माण प्याकेजहरू बनाएर काम गरिरहेको छ । जसमध्ये प्याकेज नं १ देखि ७ र १० गरी जम्मा ८ वटा प्याकेजहरूको खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनमा रहेको बताइएको छ।
आयोजना हेर्ने जिम्मेवारी पाएका नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख प्राविधिक महासेनानी गुरुङले आयोजनाका करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको बताए । उनले फास्टट्रयाक आयोजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी सेना अघि बढिरहेको भए पनि विभिन्न खाले चुनौतीको सामना गर्नुपरिरहेको स्पष्ट पारे ।

यो आयोजना महाभारत पर्वत श्रृंखलाको जटिल र कमजोर भूवनोट तथा चुरे एवं सिवालिक श्रृङ्खलामा पर्ने साँघुरो जमिनलाई छिचोल्दै तराईको समथर भूभागसँग चार लेनको सडकले जोड्नुपर्ने भएकाले थप चुनौतीपूर्ण छ।’
उनले विभिन्न स्थानमा देखिएको जग्गा मुआब्जा विवाद, आयोजना क्षेत्रमा पर्ने रूख कटानको अनुमति र स्वीकृतिमा प्रक्रियागत ढिलाइ, निर्माणजन्य सामग्रीको अभावलगायतका कारणले समेत आयोजना निर्धारित समयमा सम्पन्न गर्न चुनौती थपिएको बताए ।

रुख कटानको बदलामा बृक्षारोपण

सडक निर्माणका क्रममा काटिएका रुखका सट्टा सेनाले एक मेजर कै नेतृत्वमा बृक्षा रोपण अभियान नै चलाएको छ। बारा र रौतहटका कतिपय स्थानमा आफनै नर्सरी तयार गरि विभिन्न जातका बोटबिरुवा रोपि सकेको छ भने यो अभियान जारी राखेको देखिन्छ ।

प्रकाशित मिति:March 16, 2024