आयल निगमका तत्कालीन प्रमुख खड्काविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

  Sampatti News

March 17, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई पर्याप्त सजाय नभएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आफूले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।

आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो ।

अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको थियाे । विशेष अदालतले त्यसलाई आंशिक रुपमा ठहर गर्दै उनीहरुको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको छ ।

अख्तियारले खड्का विरुद्ध पुनरावेदन दर्ता गर्दै आफ्नो मागदावी अनुसार सजाय हुनुपर्ने भनेको छ ।

प्रकाशित मिति:March 17, 2024