वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News

March 17, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीसहित २४ जनाविरूद्ध ११  लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सामुदायिक वन क्षेत्रको रुख कटान गर्दा अनियमितता गरेको आरोपमा साहका साथै बर्दिबास नगरपालिका १ का तत्कालीन वडा अध्यक्ष चूडामणि पोखरेलसहित २४ जनाविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपाली, सव-डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरूद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतविरूद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बर्दिबास नगरपालिका वडा नम्बर १ का केही स्थानीयले दर्तावाला जग्गाका रुखहरू भनी रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख जथाभावी कटान गरी वन क्षेत्रको जग्गालाई समेत तारबार गरेका थिए ।

प्रकाशित मिति:March 17, 2024