इसानाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News

March 18, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको ईशानाथ नगरपालिका-५ लक्ष्मिनिया, जटहरामा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गर्दा प्रमुख प्रशासकीय अधिकृत गुप्ता, तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक महमद समिम अख्तरले मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन इन्जिनियर सौरभले तयार गरेको कार्य सम्पादन प्रतिवेदनमा ब्रिक मेसनरी कार्य फिल्डमा ४७.८४ क्यूविक मिटर भएकोमा ५३.३७ क्यूविक मिटर उल्लेख गरी सम्झौताको दररेटभन्दा बढी कायम गरी जम्मा ८६ हजार ६४७ रुपियाँ कायम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

यसैगरी, अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय रुपियाँ कार्य बराबरको रकम खर्च भएको देखिए पनि प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दुई लाख ३५ हजार ८९५ रुपियाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारको ठहर छ ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० रुपियाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार सात सय ९७ रुपियाँ बढी खर्च लेखेका थिए ।

आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६४७ रुपियाँ बिगो जरिवानाको मागवादी लिएको छ । त्यस्तै अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८९५ रुपियाँ बिगो जरिवानाको मागवादी गरेको छ । साथै अख्तरको हकमा पनि सोही ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७९७ रुपियाँ बराबरको बिगो जरिवानाको मागवादी अख्तियारले गरेको छ ।

प्रकाशित मिति:March 18, 2024