सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह: कांग्रेसका महामन्त्री गगन

  Sampatti News

March 18, 2024

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह गरेका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन् ।

आफू सत्तापक्षमा रहँदा भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्‌मा बोलेको उनले स्मरण गरे । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्छ भन्ने हिम्मत गर्न सत्तापक्षका सांसदलाई आग्रह गरेका हुन् ।

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाउ भनेर रोस्टमबाट बोलेको हुँ, सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हो । अख्तियारले छानबिन गरेकालाई घर पठाउ भनेको थिए’, थापाले भने, ‘सत्तापक्षबाट भन्नु हुनेछ, सुनकाण्ड एक जनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारी मुनी बसेको होस कि घाम ताप्ने या घण्टी बजाउने होस भन्ने हिम्मत गर्नुपर्छ ।’

थापाले अगाडि भने, ‘सहकारी काण्डमा शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् । गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् भन्ने हिम्मत राख्छौं कि राख्दैनौं रु सिंगो सदनको विवेक माथिको प्रश्न हो । अनुसन्धान फेयर होस् भन्ने हामी चाहन्छौं ।’

त्यस्तै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् ।

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउन पर्ने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरेका छन् । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरेका छन् ।

प्रकाशित मिति:March 18, 2024