गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

  Sampatti News

March 19, 2024

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै,नैतिकता खोइ,अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टासेका थिए ।

पोष्टर टासेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे,सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ । 

यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले अर्थमन्त्री वर्षमान पुन विरुद्ध पनि प्रदर्शन गरे ।

प्रकाशित मिति:March 19, 2024