कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा र संसदीय छानबिनको माग

  Sampatti News

March 19, 2024

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सकिएसँगै फेरि संसद अवरोध उठेर अवरोध गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको विषयमा सहकारीको रकम अपलचन गरेको विषयमा प्रधानमन्त्रीले दिएको उत्तर चित्त नबुझेको भन्दै कांग्रेसले अवरोध गरेको हो ।

नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछाने सहकारी प्रकरणमा संलग्न भएको प्रमाण नभएको भनेको प्रति आपत्ति जनाउदै संसदीय समिति गठन गर्ने माग गरेका छन् ।

‘प्रधानमन्त्रीले रविविरुद्ध कुनै प्रमाण छैन भन्नु भएको छ, हामी पर्याप्त प्रमाण छ अत्यन्त ज्यादा प्रमाण छ भनिरहेका छौं । यसको छिनोफानो कसले गर्ने त ? संसदको अभ्यासमा भएको, संसदीय मान्यतामा स्थापित भएको यही सदन भित्र छानबिन समिति गठन गरौं ।’

‘प्रधानमन्त्रीले कांग्रेसले संसदीय काम प्रभावित गरेको आरोप लगाउनु भयो । संसदको कामलाई अवरुद्ध गरेका छैनौँ, यसरी गम्भीरतापूर्क कुरा उठाउँदा सरकारले सुनेन भने सरकार आफैँले संसद् अवरुद्ध गरेको मानिने छ,’उनले भने, ‘संसदभित्र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ ।’

निष्पक्ष छानबिनको वातावरण भनेर कांग्रेसले गृहमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको छ । यसअघि संसदीय छानबिन हुँदा आरोप लागेका मन्त्रीले राजीनामा गरेका थिए । लामिछानेबारे छानबिनको माग गर्दै कांग्रेसले संसद्मा नियमित रुपमा आवाज उठाइरहेको छ ।

प्रकाशित मिति:March 19, 2024