संसद्‌मा कांग्रेसको प्रश्न : सदन अवरुद्ध भइरहँदा कसरी चल्छ सत्ता ?

पैसा नलिएको भए कसरी फर्छ्योट भयो ?

  Sampatti News

March 20, 2024

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे सदन चल्ने नदिने चेतावनी दिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको हो। बैठकमा बोल्दै कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले स्वार्थ बाझिएका लामिछानेमाथि छानबिन गर्नै नहुने गरी उनी स्वर्गबाट आएका हुन् भन्दै प्रश्न गरिन्।

हामीलाई च्यालेन्ज गर्नुभयो सरकारका गृहमन्त्रीले । चार वर्ष सदन अवरुद्ध गरोस् हामी सत्ता हाकिरहन्छौं भन्नुभयो,’ उनले प्रश्न गरिन्, ‘कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्द गर्दा सत्ता चल्छ ? त्यो कदापि हुन सक्दैन ।’ अरु बेला नभएता पनि बजेटका लागि त सदन चाहिन्छ होला नि भन्ने पनि उनको प्रश्न छ । ‘बजेटका बेला पनि संसद चाहिंदैन होला, हामीलाई चाहिएको छ संसद,’ उनले भने ।

आफूलाई सहकारीको रकम हिनामिनामा संलग्न भएको भनी आरोप लगाउँदै कांग्रेसले संसदीय छानबिन समिति कै माग गरेपछि गृहमन्त्री लामिछानेले कांग्रेस पनि दुधले नुहाएको पार्टी नभएको प्रतिक्रिया दिएका थिए ।

मंगलबारको प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग भनेका थिए, ‘…एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति (संसदीय छानबिन समिति) नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु ।’प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसले कस्तो संसदीय अभ्यास गरेको हो भन्ने प्रश्न गरेका थिए । ‘जुन ढंगले संसद् अवरोध भएको छ । एउटा पूरक, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन्,’ लामिछानेले भने, ‘ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । कांग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस् । अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर नपठाउने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ?’

आफू कामले जवाफ दिने पक्षमा रहेको भनी उनले कांग्रेसलाई नैतिकताको कुरा नसिकाउन चेतावनी दिंदै उनले भनेका थिए, ‘म भन्छु- नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् । अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस् ।’.. अनुसन्धान गर्दागर्दैमा मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् ।’

चार वर्ष आफूहरुले काम गर्दा अहिलेका धेरै मान्छे सदनमा नहुन सक्ने पनि उनको भनाइ थियो । ‘चार वर्ष यसैगरी अवरूद्ध भइरहृयो र सरकारले मजाले काम गर्न पायो भने के थाहा, धेरै मानिस सदनमा हुँदै हुने छैनन् कि !’

गृहमन्त्री लामिछानेको यही अभिव्यक्तिमाथि कांग्रेसले बुधबार संसदमा प्रश्न उठाएको हो । साथै, कांग्रेस सांसद न्यौपानेले संसदीय छानबिनबाट नभाग्न पनि गृहमन्त्री लामिछानेलाई आग्रह गरेकी छन् । उनले प्रश्न गरिन्, ‘छानबिन गर्न किन डराउनु पर्‍यो ?’

अब बस्ने बैठकमा गृहमन्त्रीको सहकारीको रकम अपचलनमा रहेको संलग्नताको विषयमा छानबिन गर्न संसदीय छानबिन गर्ने प्रक्रिया अगाडि नबढे संसद चल्न नदिने पनि उनले चेतावनी दिइन् । ‘आउँदो बैठकमा छानबिन समिति बनाउन सत्तापक्षले मानेन भने हामीले होइन संसद उहाँहरुले नै अवरोध गरेको मानिनेछ ।’

प्रकाशित मिति:March 20, 2024