महरासँग आज पनि बयान लिइँदै

  Sampatti News

March 21, 2024

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको  म्याद आज समाप्त हुने भएकाले  बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । 

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

प्रकाशित मिति:March 21, 2024