चौधरीसँग सिआईबीले लियो २ घण्टा लामो बयान

  Sampatti News

March 21, 2024

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विहिबार विहान दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनको भनाइ थियो । 

काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ । छाला जुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सीआईबीले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानलाई जारी राखेको छ । त्यसक्रममा १८ माघमा अरुण चौधरीसहित ३ जना पक्राउ परे । उनीहरु धरौटीमा छुटे । यसैगरी बुधबार मात्र वसन्त चौधरीलाई बोलाएर कागज गराइएको छ । बाँसबारी छाला जुत्ता कारखाना निरन्तर घाटामा भएको भन्दै तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले चौधरी घरानाका लुनकरणदास चौधरीसँग एउटा प्रवर्द्धन सम्झौता गरे, जसमा क्यानभास स्पोर्ट्स जुत्ता उत्पादन गर्ने उल्लेख गरिएको थियो ।

सम्झौतामा ५१ प्रतिशत शेयर करणदास चौधरी र परिवारको नाममा, २५ प्रतिशत बाँसबारी र २४ प्रतिशत सर्वसाधारणको शेयर रहने भनिएको थियो । सम्झौताअनुसार २७ कात्तिक २०४३ मा च्याम्पियन फुटवयेर कम्पनी दर्ता भएको थियो भने ५ भदौ २०४४ मा बाँसबारी छालाजुत्ताको ६ रोपनी जग्गा हस्तान्तरण भयो । थप ४ रोपनी जग्गा पनि च्याम्पियन फुटवेयरको नाममा गयो । त्यो बेला कम्पनीको शेयर सदस्यमध्ये एक थिए, विनोद चौधरी ।

च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २१०० कित्ता शेयर थियो भने विनोद चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००र२०० कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १०० कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो । सम्झौता अनुसार सर्वसाधारणका लागि शेयर जारी नै भएन भने तीनरचार वर्ष जुत्ता उत्पादन गरेको च्याम्पियन फुटवेयर बन्द भयो । प्रजातन्त्र पुनर्स्थापनासँगै बाँसबारी छालाजुत्ता कारखाना निजीकरण गरेपछि च्याम्पियन फुटवेयरमा रहेको २ हजार कित्ता शेयर चौधरी समूहले आफ्नो बनायो ।

प्रकाशित मिति:March 21, 2024