उजुरी पर्दैमा आत्तिनु पर्दैन कानुन सम्मत छ भने भुक्तानी गर्नोस् : अख्तियार सचिव दङ्गाल

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका सचिव रामेश्वर दंगालले आफुले गरेको काम सहि छ, कानून बमोजिम छ भने आयोगसँग कोही कसैले आत्तिनु र डराउनुपर्ने अवस्था नभएको बताएका छन् । यही चैत्र २ गते सोलुखुम्बुमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा उनले उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सो बताएका हुन् ।

उनले कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सबैको जिम्मेवारी रहेकोले सबैले सहकार्य गरे भ्रष्टाचार नियन्त्रण हुने बताए । आयोगको भूमीका केवल उपचारात्मक मात्र नभई प्रवर्द्धान्तमक समेत रहेकोले आयोगले प्रदेशस्तरीय, जिल्लास्तरीय तथा पालिकास्तरीय अन्तर्क्रिरया कार्यक्रम गरी भ्रष्टाचार नियन्त्रणमा अग्रसर रहेको उनको भनाइ थियो । सचिव दंगालले उजुरी पर्दैमा आत्तिनु नपर्ने तथा गरेको काम कानून सम्मत छ भने सो को भुक्तानी रोक्नु पर्ने आवश्यकता नभएको जवाफ दिए । उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा सबैको भूमिका रहने र यसका लागि सबैले आयोगलाई सघाउनुपर्ने बताइन् । भौगोलिक रुपले दुर्गम क्षेत्र भएकोले आयोगले छानविनको जिम्मेवारी दिंदा सिमित समयमा सिमित संशाधनले छानविन गर्न निकै चुनौतिपूर्ण रहेको भनाइ थियो ।

उक्त दुर्गम क्षेत्रको छानविन अनुसन्धान आयोगको आफ्नै टोलीमार्फत गरिदिन उनले आयोगलाई अनुरोधसमेत गरिन् । कार्यक्रममा उनले वडाबाट हुने विभिन्न सिफारिसहरुमा अनियमितता भएको तथ्य देखिएकोले सिफारिस गर्दा संवेदनशिल भएर सबै तवरले सन्तुष्ट भई मात्र वडाबाट सिफारिस हुन मनासिव देखिएको बताइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुमा आयोजना गरेको ” भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन” जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममामा अध्यक्षता गर्नुहुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, जि.स.स. का प्रमुख कृष्ण प्रसाद निरौला, सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यलयका प्रमुख एवं सहसचिव रामबहादुर कुरुम्वाङ।

सोही अन्तरक्रिया कार्यक्रममा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा आयोगले उल्लेखनिय कार्य गरेको जानकारी गराउँदै यसमा सबैले सहकार्य गर्नुपर्ने औल्याए । त्यस्तै अध्यक्ष बस्नेतले देशको राजनितिक नेतृत्व तथा कर्मचारी नेतृत्वमा तालमेल नहुँदा जनतालाई सेवा प्रवाहमा मर्का परेको उल्लेख गरे । ‘अति आवश्यक कार्यको लागि समेत समयमा बजेट व्यवस्थापन नहुँदा विकास निर्माणको कार्यमा बाधा परेको तथा संरचना अधुरो भई प्रयोगमा आउन नसकेको तितो सत्य हो,’ उनले भने ।

यसैगरी कार्यक्रममा अर्का अतिधि लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले आफ्नो गाउँपालिका धेरै उजुरी परेको तर महिला भएकै कारणले असफल बनाउन तथा मानसिक रुपले प्रताडित गर्न कपोकल्पित झुठ्ठा उजुरी दिने गरेको बताइन् । आफ्नो गाउँपालिकामा परेका उजुरीहरुको छिनोफानो आयोगले समयमा गरिदिए राम्रो हुने उनको भनाइ थियो ।

गाउँपालिकाको अध्यक्ष हुनुभन्दा अघि पहिले शिक्षक भएको र सो पेशा छोडी राजनितिमा आउनुको मुख्य कारण पालिकाको विकास तथा सामाजिक रुपान्तरणको आकांक्षा रहेकोसमेत उनले प्रष्ट पारिन् । कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद निरौलाले आफुले भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले सबैले सोहि प्रतिवद्धता गरे भ्रष्टाचार आफैं नियन्त्रण भएर जाने औल्याए । ‘भ्रष्टाचार नियन्त्रणको कार्यमा हामी सबैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनु पर्छ,’ उनले भने । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख राम बहादुर कुरुम्वाङले स्वागत मन्तव्य राख्ने क्रममा आम नागरिकको अपेक्षित भावनाअनुरूप सुशासनको प्रत्याभूति गराउन सबै आआफ्नो ठाउँ बाट लाग्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी कार्यक्रमलाई संचालन सुनिल कुमार चौरसियाले गरेका थिए ।