राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री दाहाल

Nepal Cover
१४ चैत्र २०८०, बुधबार
image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताएका छन्।

द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन, प्रधानमन्त्री प्रचण्डले भने, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्,त्यसले गर्दा कतिपय समस्या भएको छ ।”

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले द्वन्द्व पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन,द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको जिकिर गरे। प्रधानमन्त्रीले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए।