नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

Nepal Cover
१५ चैत्र २०८०, बिहीबार
image

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ।

नेप्से परिसूचक यस दिन ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

आज कूल ६६ लाख १२ हजार ८८५ कित्ता शेयर २ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँमा कारोबार हुँदा ११९ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ११६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्‌ भने १० कम्पनीको शेयरमूल्य स्थिर छ।

साताभर नै घट्दो क्रममा रहेको नेप्से झिनो अंकले बढ्दा आज हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका शेयरधनीले प्रतिकित्तामा १० प्रतिशत (२८.७० रुपैयाँ) कमाएका छन्‌। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१५.७० रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। साताभर नै सकारात्मक सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रतिकित्ता शेयरमूल्य पनि ९८.१० रुपैयाँले बढेर १०८२.७० रुपैयाँ पुगेको छ। सो कम्पनीको यस दिन १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ।

त्यसैगरी सर्वाधिक गुमाउनेहरूमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्‌। यी दुई कम्पनीका शेयरधनीहरूले प्रतिकित्ता शेयरमा क्रमशः १६५ र १४५.४० रुपैयाँ गुमाएका छन्‌। दुबै कम्पनीको शेयरमूल्यमा १० प्रतिशत गिरावट भएको हो।