बिरामी नआउने डरले किष्ट हस्पिटलले स्वास्थ्यकर्मी संक्रमितको सुचना लुकायो

  Sampatti News

August 27, 2020

काठमाडौँ । ललितपुरस्थित किष्ट मेडिकल कलेजले स्वास्थ्यकर्मी संक्रमित भएको सुचना लुकाएको छ । कलेजका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुँदै होम आईसोलेसनमा बसेर निको भएपछि काममा फर्किएका छन् । तर अस्पताल प्रशासनले भने बिरामीको चाप घट्ने चिन्ताले स्वास्थ्यकर्मी संक्रमित भएको सूचना नै लुकाएको स्रोतले जनाएको छ ।

उक्त मेडिकल कलेजमा प्रसुति बिभागका एक चिकित्सक, फिजियो थेरापी विभागका कर्मचारी, मेडिकल विभागका चिकित्सक, आवासिय चिकित्सक,एक्सरे विभागका कर्मचारी लगायतका कर्मचारीहरुमा कोरोना संक्रमण भएको र एकजना एक्सरे विभागका कर्मचारीको अझै पनि सोही अस्पतालमा उपचार गराईरहेको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

किष्ट मेडिकल कलेजमा कोभिड १९ का बिरामी झण्डै २० जनाको हाराहारीमा भर्ना भएका र केही बिरामीले अस्पतालको महगो शुल्कका कारण अस्पताल भर्ना हुन नसकेर जटिल अवस्थामा पनि घरमै आइसोलेसनमा बस्न बाध्य भएको गुनासो स्वास्थ्य मन्त्रालय समक्ष गरेको बुझिएको छ । किष्ट मेडिकल कलेजमा क्याबिनमा भर्ना हुन १ लाख देखि १ लाख ५० हजार पर्छ भने सामान्य बेडमा ५० हजार चाहिन्छ भनेकाले आफु भर्ना नभै घरमै बसेर पुन परिक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको एक बिरामीले बताए ।

यतिबेला अस्पतालको क्याबिनमा १० जना भन्दा बढी र सामान्य बेडमा पनि कोरोना संक्रमित बिरामीहरु भर्ना भएका छन् । अस्पतालमा लामो समयदेखि बिरामीको खडेरी परेको र अहिले कोभिडका बिरामी भर्ना भएपछि उनैबाट मोटो रकम असुल गर्ने उदेश्य राखेको गुनासो पिडित बिरामीले बताएका छन् ।

संक्रमित बिरामीले पहिला जस्तै अस्पतालमा बिरामी कमै होलान सुरक्षाका लागि क्याबिनमा बस्दा सस्तो रहेछ भने त्यहि बसौ भनेर मूल्य सोध्दा आफुले नर्मल बेडमा पनि तिर्न नसक्ने बुझेर जति दुःख कष्ट भएपनि घरमै बस्छुु भनेर फर्किएको बताए । यस बिषयमा जानकारी लिनका लागि किष्ट मेडिकल कलेजका चिफ अप्रेटिङ अफिसर अमिस पाठकसँग पटक पटक फोन गर्दा उहाँले फोन नै रिसिभ नगरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रकाशित मिति:August 27, 2020