संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै

  Sampatti News

May 13, 2024

काठमाडाै । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुने कार्यसूची रहेको छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए तथा गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अन्तर-धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति:May 13, 2024