भारतीय दूतावासले दिएको उपहार “एम्बुलेन्स”अध्यक्षको डेरामा 

  Sampatti News Online

May 13, 2024

रौतहट, ३१ वैशाख । रौतहटको तत्कालीन जोकाहा गाविस ९ हाल ईशनाथ नगरपालिका स्थित एक संस्थाले भारतीय दूताबासबाट उपहार स्वरुप प्राप्त एम्बुलेन्स विगत ३ बर्ष देखि दुरुपयोग भएको पाईएको छ।
भारतको गणतन्त्र दिवसको अवसरमा तत्कालिन जोकहा गा विस ९ तथा हाल इशानाथ नगरपालिका स्थित शान्ति युवा परिवार नामको संस्थालाई तिन बर्ष अघि एम्बुलेन्स प्रदान गरेको थियो। गाउँका जनताहरुको सुविधाको लागि प्राप्त एम्बुलेन्स संस्थाकै पदाधिकारीले गाउँमा नल्याई जनकपुरमा राखेर कमाईखाने भाँडो बनाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारको नाममा ११४१ नम्वरमा दर्ता भएको र उक्त संस्थाको अध्यक्ष विश्वनाथ प्रसाद गुप्ता रहेको देखिएको छ।

सीप विकास केन्द्र जनकपुर पिडारी चोक नमूना बस्तीमा कार्यरत संस्थाका अध्यक्ष गुप्ताले भारत सरकारबाट जोकाहाको लागी पाएको ना.५ च १४५३ नम्बरका एम्बुलेन्स आफै बसेको ठाँउ जनकपुरमै राखेर सञ्चालन गरी आर्थिक अनियमितता गर्दै आइरहेको एम्बुलेन्स चालक महासंघको दाबी रहेको छ।

उक्त एम्बुलेन्सको गतिविधि बारे पटक पटक जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित रुपमा उजुरी दिदाँ स्थानिय प्रशासनले कहिलै वास्ता नगरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले गुनासो गरेका छन।

गत फागुन १५ गते २६ वटा संस्थाको संयुक्त बैठकले स्थानिय विरामीहरुलाई सुरक्षित अस्पताल सम्म पुर्याउन जुन ठाउँको एम्बुलेन्स रहेको छ उक्त एम्बुलेन्स त्यहीँ पठाउने जिल्ला प्रशासन कार्यालय धनुषामा निर्णय भएको थियो।

तर उक्त निर्णय महिनौं बित्दापनी हालसम्म कार्यान्वयन हुन नसकेको केन्द्रीय अध्यक्ष ठाकुरले गुनासो गरेका छन्। हाल उक्त एम्बुलेन्स जनकपुरधाम थापा चोक स्थित एक निजि घरको कम्पाउण्डमा पार्किग गरिएको अवस्थामा फेला परेको उनको भनाई रहेको छ।

रौतहटका सिडियो हिरालाल रेग्मीले कुनै पनि गैरसरकारी संघ संस्थाको नाममा आएका एम्बुलेन्स व्यत्तिगत रुपमा चलाउन नपाईने बताएका छन्।

उक्त एम्बुलेन्सको अवस्था बारे आवश्यक अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने सिडियो रेग्मीले प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति:May 13, 2024