May 15, 2024
काठमाण्डौँ । उपत्यकाका धारामा मेलम्चीको पानी आउन फेरि बन्द हुने भएको छ । मेलम्ची बाढीले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स मर्मतपछि पाँच महिनाअघि अस्थायी रूपमा काठमाडौंमा पानी ल्याइएको थियो । तर, बर्खायाम सुरु भएसँगै मेलम्ची नदीमा जुनसुकै वेला बाढी आउन सक्ने र आयोजनामा क्षति पुग्ने भन्दै पानी रोक्न लागिएको हो ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार सुन्दरीजलमा धमिलो पानी आउनेबित्तिकै मेलम्चीको पानी रोकिनेछ । ‘अस्थायी रूपमा पानी ल्याइरहेकाले यो वर्ष पनि बर्खामा मेलम्चीको पानी उपत्यकामा झर्दैन,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘सुरुङ हुँदै सुन्दरीजलसम्म आउने पानीमा धमिलोपन बढ्दै गएपछि पानी बन्द गर्छौँ ।’ मेलम्चीबाट पठाएको पानीमा हुने तीन सय युनिटसम्मको धमिलोपन प्रशोधन गर्न सक्ने क्षमता सुन्दरीजल प्रशोधन केन्द्रको रहेको छ । प्रशोधन केन्द्रले प्रशोधन गर्न नसक्ने अवस्था आएलगत्तै पानी बन्द हुनेछ । धमिलो पानी सुरुङमा पसेमा सफा गर्न गाह्रो हुने भएकाले त्यसअघि नै बन्द गर्ने समितिको योजना छ ।
अघिल्लो वर्षको असारमा पनि मेलम्चीमा धमिलो पानी आउन थालेपछि पानी बन्द गरिएको थियो । त्यसपछि १ माघदेखि मात्र उपत्यकावासीको धारामा पठाउन थलिएको थियो । मेलम्ची नदीमा बाढी आउन थालेपछि गत साउनदेखि भने पूर्ण रूपमा पानीमा रोक लगाइएको थियो । यसअघिका बर्खायाममा पनि मेलम्चीको पानी रोकिएको थियो ।
२७ र २८ साउन ०७९ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । बर्खा सुरु भएसँगै समितिले ९असार पहिलो सातादेखि० मेलम्चीको पानी बन्द गरेको थियो । यस्तै, १ असार र १५ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । १५ चैत ०७७ बाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो ।
प्रत्येक वर्ष बाढीले मुख्य हेडवर्क्समा क्षति पुग्न थालेपछि सरकारले हेडवर्क्स सार्ने तयारी थालेको छ । यसका लागि आयोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक, परामर्शदाता र विशेषज्ञहरूको समूहले हेडवर्क्स सार्न सिफारिस गरेको थियो । ऋणदाताबाटै हेडवर्क्स सार्न सुझाव आएपछि सरकार पनि सकारात्मक भएको हो । हेडवर्क्स सार्नका लागि खानेपानी मन्त्रालयले तयारी थालिसकेको जनाएको छ ।
यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ । सकारकाले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताए । नयाँ पत्रिकाबाट
प्रकाशित मिति:May 15, 2024
November 24, 2024