डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न

Nepal Cover
२ जेष्ठ २०८१, बुधबार
image

कास्की । पोखराको प्राइम सहकारीको ठगीमा उपसचिवसहित तीन कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । कर्मचारीले घुस लिएर सहकारीको अवैध कारोबारमा साथ दिएका थिए ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको छानविनमा तीन कर्मचारीको संलग्नता रहेको भन्दै उनीहरूमाथि समेत कारबाहीका लागि प्रहरीमा सिफारिस भएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले तत्कालिन रजिष्ट्रार उदय पराजुली, सहकारी विभाग काठमाडौंका शाखा अधिकृत सन्देष प्रसाद जोशी र नायब सुब्बा कमल पोखरेल सहकारीबाट घुस लिएका हुन् । पराजुलीले ३० लाख तथा अधिकृत जोशी तथा नासु पोखरेलले सात लाख ५० हजार घुस लिएर सहकारीको अवैध कारोबार लुकाएका थिए ।

उनीहरुले राम्रोसँग अनुगमन गरेको भए सहकारी अहिलेको अवस्थामा पुग्ने थिएन । उनीहरुमध्ये पराजुली पोखराकै मित्रमिलन सहकारीको ठगी मुद्दामा पक्राउ परी हाल जेलमा छन् । सो सहकारीबाट उनले एक करोड लिएका थिए ।
प्राइम सहकारीका कर्मचारी तथा सञ्चालकले दिएको बयानका आधारमा तीन कर्मचारीले घुस लिएको पुष्टि भएको हो ।

कास्की प्रहरीले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरी अनुसन्धान थालेको छ । दुई कर्मचारीलाई पनि पक्राउ गर्ने प्रहरी तयारी छ ।