काठमाडाै । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको विश्वास छ ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ ।