लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी महिला पक्राउ

  Sampatti News Online

May 16, 2024

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका-१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगूऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम छ ।” पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । बरामद गरिएको अवैध लागूऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति:May 16, 2024