काठमाडौँ महानगरपालिका फाइनलमा प्रवेश : फाइनल खेल महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबिच हुने

  Sampatti News

May 16, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिए ।

खेलको म्यान अफ द म्याच महानगरको टीमबाट जर्सी नम्बर १० का अनिल खड्का घोषित भए ।


सेमीफाइनलको अर्को खेल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको टीम बिच भएको थियो । यस खेलमा १–० गोल अन्तरले चन्द्रागिरी फाइनलमा पुगेको छ । महानगरपालिकाले फाइनल खेल चन्द्रागिरी नगरपालिकासँग खेल्नेछ ।

महानगरपालिकाको टीमले उच्च आत्मबलका साथ खेल प्रदर्शन गरेको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतिक्रिया दिनुभयो । यस प्रकार खेलका विभिन्न प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको क्षमता विकासमा महानगरपालिकाको जोड रहेको के. सी. को भनाइ छ ।

प्रतियोगिताको पहिलो खेलमा महानगरपालिकाको टीमले बुढानीलकण्ठ नगरपालिकाको टीमलाई ४–३ अन्तरले जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो । क्वाटर फाइनल खेलमा महानगरपालिकाले गोदावरी बी सँग खेलेको थियो । यस खेलमा २—१ गोल अन्तरले महानगरपालिकाको टीम सेमी फाइनलमा प्रवेश गरेको थियो ।

प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति:May 16, 2024