May 17, 2024
काठमाडाै । सत्तापक्ष र प्रतिपक्षबीच सदनमा भनाभन हुँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि अभद्र व्यवहार भएको छ । सत्तापक्षको बेन्चमै आएर कांग्रेस उपसभापति धनराज गुरुङले उनीमाथि औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएका छन् ।
नाराबाजी गर्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लाएर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले वास्तै गरेनन् । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’
त्यसपछि गुरुङ थप आक्रामक बने । ओलीलाई औँला ठड्याउँदै प्रतिवाद गरे । वेलमा रहेका कांग्रेसका महिला सांसद पनि दौडिँदै त्यहीँ आएर नाराबाजी गरे । एमाले सांसद महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीको प्रतिरक्षा गरेका थिए । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।
‘हाम्रो अध्यक्षले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो । तर, उल्टै अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो,’ सांसद गैरेले भने । गुरुङले भने आफूले मर्यादाविपरीत गतिविधि नगरेको, बरु एमालेसहितका सत्तापक्षका सांसदहरूले घटनालाई अतिरञ्जित गरेको दाबी गरे । – नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति:May 17, 2024
November 23, 2024