‘एमडीएच’ र ‘एभरेष्ट’को मसलामा नेपालले लगायो रोक

  Sampatti News

May 17, 2024

काठमाडौँ । नेपालले भारतीय मसला निर्माता कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका मसलाहरूमाथि रोक लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

यससँगै बिहीवार विभागका महानिर्देशक मतिना जोशी वैद्यको अध्यक्षतामा बसेको बैठकले ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका चार वटा मसलाहरूको आयात अनुमति तत्काल स्थगित गर्ने र बजारमा रहेका सो ब्रान्डका उत्पादनहरू ‘रिकल’का लागि निर्देशन दिने निर्णय गरेको छ । 

विभागले एमडीएच ब्रान्डको मद्रास करी पाउडर(स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला पाउडर तथा एभरेष्ट ब्रान्डको फिस करी मसलामाथि रोक लगाएको हो । 

यी दुई ब्रान्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएसँगै नेपाली उपभोक्तामा पनि यसबारे गम्भीर चासो र चिन्ता व्यक्त भएको थियो । जससँगै विभागलाई थप दबाब सिर्जना भएको थियो । 

आम नागरिकको स्वास्थ्यप्रतिको चाँसो र चिन्तालाई मध्यनजर गर्दै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलीन अक्साइड’को परीक्षणलाई उच्च प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । 

प्रकाशित मिति:May 17, 2024