तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

  Sampatti News 2024

September 12, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्रताका साथ सरकारको काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्र गतिमा काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको भन्दै अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री ओली अगाडि भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ । मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तिब्रता दिनेछौँ । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन । हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ ।’

प्रधानमन्त्री ओलीले बिस्तारै गरौंला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह समेत गरेका छन् । उनले काममा तिब्रतासँगै योजनावद्धता आवश्यक रहेको र मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आ—आफ्नो मन्त्रालयको समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति:September 12, 2024