प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्ने प्रहरी प्रयासको महासंघद्वारा विरोध

  Sampatti News 2024

September 12, 2024

काठमाडौं । नेकपा (एमाले) निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरेको छ ।

समाचारको विषयलाई लिएर प्रहरीे पक्राउ गर्न खोजेको हो । आज साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी भइरहेका थिए ।

बस्नेतलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस चौतारीका नेताहरुले समाचार लेखेकै भरमा अध्यक्षलाई पक्राउ गर्न खोजेको बताएका छन् ।

प्रकाशित मिति:September 12, 2024