जुवा खेलिरहेको अवस्थामा पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ

  Sampatti News 2024

September 15, 2024

विराटनगर । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पूर्वगाउँपालिका अध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट १८ लाख रुपैयाँ पनि बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा शनिबार राति प्रहरी जुवा खालमा पुगेको थियो । जुवाखालबाट पक्राउ पर्ने पूर्व गाउँपालिका अध्यक्षमा ग्रामथान–४ निवासी शिवनारायण माझी रहेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटालाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति:September 15, 2024