सोह्र श्राद्ध आजबाट सुरु : दिवङ्गत पितृलाई तर्पण, सिदादान, र पिण्डदान गरिने

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिमा श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने हुन्छ ।

सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान, र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ । वैदिक सनातन परम्पराअनुसार चाडपर्वको प्रारम्भअघि पितृलाई श्रद्धापूर्वक सम्झने प्रचलन छ । पितृलाई श्रद्धासाथ सम्झेर श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार जाताशौच, मृताशौच वा पत्नी रजस्वला अवस्थाबाहेक सोह्र श्राद्ध रोक्नु हुँदैन । कुनै कारणवश श्राद्ध गर्न नसकिएमा विभिन्न वैकल्पिक दिनहरूमा पनि गर्न सकिने शास्त्रीय व्यवस्था छ । यदि तिथिमा गर्न सम्भव भएन भने लक्ष्मीपूजाका दिन वा मङ्सिरसम्म श्राद्ध गर्न सकिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार, सोह्र श्राद्ध विधिपूर्वक अपराह्नकालमा गर्नुपर्ने हुन्छ । पितृपक्षको अन्त्यसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ, र यसअघि पितृ तृप्तिका लागि श्राद्ध गरिन्छ, जुन वैदिक परम्पराअनुरूप रहेको छ ।

प्रकाशित मिति:September 18, 2024