मुख्यसचिव अर्यालले सचिबहरुलाई दिएको निर्देशनले थप सुधार हुने आशा जगायो

बजार अनुगमन भने नियमित गर्न थप निर्देशन

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । निजामती प्रशासनमा आशा गरिएका व्यक्तित्व मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिव बैठकपछि सरकारका सबै सचिवहरु गम्भीर र थप सुधार हुने भए संगै उत्साहित समेत देखिएका छन् ।
मुख्य सचिवको परिणाम दिने गरी काममा खट्न कडा निर्देशन सँगै अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता समेत पाएपछि सचिवहरु थप उत्साहित देखिएका हुन् ।

बिहान ९:३० देखी चलेको सचिव बैठकमा मुख्य सचिवले उठान गरेका विषय र दिएका निर्देशनले आफुहरुले एउटा कुशल अभिभावक पाएको अनुभूति गरेको बैठकमा सहभागी सचिवहरुले बताए । साँच्चै नै आजको मुख्य सचिवको प्रस्तुति नीकै दमदार थियो, पूर्ण संरक्षण दिने प्रतिवद्धता सहित जनताको काममा परिणाम निकाल्नै पर्ने गरी खटिनुपर्ने चेतावनीयुक्त निर्देशन पनि पायौ , एउटा कुशल अभिभावको रुपमा उनले सबै कर्मचारीलाई पूर्ण संरक्षण प्रदान गर्दै र सामान्य चेतावनी दिदै परिणाम आउने गरी काममा खट्न दिएको निर्देशनले वास्तवमै हामीलाई थप उत्सहित बनाएको छ ।

’बैठकमा सहभागी एक सचिवले सम्पत्ति न्युज संग भने । ‘मुख्य सचिवज्यूले उठाएका महत्वपूर्ण विषय र दिएका निर्देशनहरु सुन्दा सिंगो निजामती प्रशासनले सच्चा अभिभावक पाएको अनुभूति गर्यौ । ’बैठकमा सहभागी ती सचिवले उत्साहित हुँदै भने ।

यस अघिका सचिव बैठकहरु प्राय कर्मकाण्डी जस्तै बन्दै आएका थिए । कैयौ बैठक औपचारिकतामा सिमित भए । मुख्य सचिव अर्यालले बैठकमा यो विषयलाई गम्भीरताका साथ उठाएका छन् । ‘सुशासन ऐनले नै सचिव बैठकको व्यवस्था गरेको हो त्यसैले यो बैठकको ठुलो महत्व र उपादेयता छ, कसैले पनि यसको भ्यालुलाई कमजोर बनाउन पाउदैन , सुशासन ऐन अनुसार बस्ने सचिव बैठकले जे निर्णय गर्छ त्यसको कडाइका साथ कार्यान्वयन हुनुपर्छ यसमा सबै जना सचिवहरु गम्भीर बनौ । ’मुख्य सचिव अर्यालले बैठकको शुरुवात गर्दै भने । सचिव बैठकमा गरेका निर्णयहरु आफैमा कानुन जस्तै हो त्यसैले यसलाई अवमूल्यन गर्ने काम कसैले नगरौ, कडाईका साथ कार्यान्वयन गरौ । ’मुख्य सचिव अर्यालको जोड थियो ।

बैठकमा सहभागी अर्का एक सचिवले निजाामती क्षेत्रमा सोमबारको सचिव बैठक र त्यसले गरेका निर्णयहरु कोशेढुंगा सावित हुन सक्ने विश्वास व्यक्त गरे । उनले बैठकले गरेका निर्णयहरुको शसक्त कार्यान्वयन हुने हो भने त्यसले निजामती प्रशासनको साख धेरै माथि सम्म पुर्याउन सक्ने विश्वास व्यक्त गरे ।

अर्का एक सचिवले मुख्य सचिवले गरेका प्रतिवद्धताको व्यवहारिक कार्यान्वयन भएमा आम कर्मचारीले कुशल अभिभावक पाएको प्रत्यक्ष महसुस गर्ने बताए । विगत केहि वर्षयता मुख्य सचिवहरुले कुशलतापूर्वक भुमिका निर्वाह गर्न नसक्दा र राजनीतिक नेतृत्वको अघि लम्पसार पर्दै आत्मसमर्पण गर्दा आम कर्मचारीहरुले अभिभावकविहीन र टुहरो महसुस गर्दै आएका थिए । यसैका कारण निजामती प्रशासन अकर्मण्यताको शिकार हुदै आएको र यसले आफ्नै र नेतृत्वको अक्षमताका कारण कोमामा पुग्न लागेको आरोप खेप्दै आएको छ ।

मुख्य सचिव अर्यालले सचिव बैठकमा सचिव लगायतका सबै कर्मचारीले देश र जनताको हीतमा परिणाम निस्कने गरी काम गर्नुपर्ने र त्यसरी काम गर्दा कुनै समस्या परेमा त्यो समस्या समाधान गर्न आफु हरपल तत्पर रहने प्रतिवद्धता जनाए । उनले कुनै पनि कर्मचारीलाई काम गर्दा फसिन्छ की भन्ने मनोवैज्ञानिक त्रास उत्पन्न हुन नदिने गरी आफुले नेतृत्वदायी भुमिका निर्वाह गर्ने वाचा समेत गरे । सचिव बैठकमा उनले भने ‘काम गर्दा कुनै पनि नियामक निकायले कारवाही गर्छ की भन्ने डर त्रास नराख्नुस, यदि तपाईहरुले राम्रो काम गर्दा पनि अन्यायमा पर्नुभयो भने त्यसका लागि म डटेर लड्छु तर खराब कर्मको परिणाम भने आफै भोग्नुपर्छ । ’मुख्य सचिव अर्यालले सचिव बैठकमा भने ।

अहिले सरकारी क्षेत्रमा नियामक निकायले दुख दिने बहाना बनाउदै कतिपय महत्वपूर्ण कामहरु हुन छोडेका छन् । जसका कारण सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन भने विकास निर्माण कार्य समेत अवरुद्ध हुदै आएका छन् । मुख्य सचिव अर्यालले यो विषयलाई बैठकमा गम्भीरताका साथ उठाउँदै भनेका छन् ‘जनहीत र देशहीतमा स्वार्थ नराखी काम गरौ, त्यति गर्दा कतैबाट कारवाही हुने कुरै हुँदैन् । ‘कथंकदाचित यस्तो गर्दा कारवाही भोग्नुपर्ने परिस्थिति आयो भने तपाइहरुको अभिभावको हैसियतले न्याय दिन म आफै लड्छु, जहा जान पनि तयार छु । ’मुख्य सचिव अर्यालले भने । मुख्य सचिव अर्यालले मन्त्रिपरिषद् प्रस्ताव ल्याउदा बहुतै विचार पुर्याएर ल्याउनुपर्ने आवश्यकता औल्याए । ऐन नियम अनुसार मन्त्रालय आफैले निर्णय गर्न सक्ने विषय मन्त्रिपरिषद् नल्याउन मुख्य सचिव अर्यालले सचिवहरुलाई निर्देशन दिए ।

मुख्य सचिव अर्यालले समन्वय गरेर काम गर्नुपर्ने विषयमा अन्तरमन्त्रालय बीच उचित समन्वय हुनुपर्ने आवश्यकता औल्याउदै यसमा सम्वन्धित मन्त्रालय र सचिवहरु जिम्मेवार हुनुपर्ने बताए । हरेक मन्त्रालयका सचिवहरुले गर्ने कार्यसम्पादनको आधारमा मासिक रिपोर्ट कार्ड समेत बनाइने र त्यसैका आधारमा सचिवहरुको कार्यसम्पादन मूल्यांकन हुने विषयलाई पनि मुख्य सचिव अर्यालले प्राथमिकताका साथ राखेका छन् ।

यसैगरी सचिव बैठकमा कर्मचारी सरुवा व्यवस्थापन उचित किसिमले हुनुपर्ने, कसैलाई पनि लामो समय सम्म जिम्मेवारी नदिई राख्न नहुने, सचिव बैठकले गरेका निर्णयहरुको शसक्त कार्यान्वयन हुनुपर्ने , एकले अर्कालाई जिम्मेवारी र दोषारोपण थुपार्ने कार्य निषेध गर्नुपर्ने, सचिवहरुको रिपोर्टकार्ड बनाइने, सेवा प्रवाह प्रभावकारी बनाइने, बजार अनुगमन थप प्रभावकारी बनाइने, यातायातको सहज पहुँचको व्यवस्था मिलाउने लगायतका तीन दर्जन बढि निर्णय भएको बताइएको छ । मुख्य सचिव अर्यालको सचिवालयले सचिव बैठकको निर्णयहरुलाई औपचारिकता दिने काम भइरहेको र केहि बेरमा नै सबै निर्णय सार्वजनिक गरिने जनाएको छ ।

  • मुख्यसचिव अर्यालले आज सचिबहरुलाइ दिनुभएको निर्देशन

प्रकाशित मिति:September 23, 2024